केपी ओलीको प्रश्न- मधेसको मान्छे म कसरी मधेस विरोधी भएँ

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियान सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । मंगलबार वीरगंजमा आयोजित एक कार्यक्रममा अन्य पार्टी काम नलाग्ने भएकाले पनि एमालेमा आएर राष्ट्र निर्माणका अभियानमा सहभागी हुनुपर्ने अध्यक्ष ओलीको तर्क छ ।
उनले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरुलाई पनि एमाले प्रवेश गर्न आग्रह गरे । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन सरकार जनताको मतले नभई अदालतले गलत ढंगले बनाएको दोहोर्याए । उनले भने, ‘कतिपय साथीहरु विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीहरुमा अल्झिएर वा रुमलिएर रहनु भएको होला । म उहाँहरुलाई सबैलाई ती पार्टीहरु काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’
उनले सत्ता गठबन्धन अपवित्र रहेको आरोप लगाए । उनले भने, ‘अहिले यहाँहरुले देख्नु भएको छ, सुन्न भएको छ–पाँच दलीय गठबन्धन भन्या छ । अपवित्र ढंगले, गलत ढंगले जन्मिएको गठबन्धन । अहिलेको सरकार जनताले बनाएको सरकार होईन । जनताले बनाएको सरकारलाई अध्यारा कुनाहरुमा षडयन्त्र गरेर, त्यही पनि अदालतमा लगेर, कागजको नौं सिङ भन्छन नि । नौं सिङ मध्ये कोखाको सिङले टाउकोको सिङले हानेको होइन । नौं सिङ मध्ये कोखाको सिङले हानेर नेकपा एमालेलाई सरकारबाट हटाएर दुनियाँमा कहीँ नभएको अदालतले सरकार बनाउने, अदालतबाट प्रधानमन्त्री छान्ने काम गरेर यो सरकार गठन गर्या हो ।’
अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोप समेत लगाए । तर आफू मधेसको मान्छे भएको उनको दावी थियो । अध्यक्ष ओलीले मधेसमा भैंसीको पिठ्यूमा बसेर कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेसमा रहेको पनि बताए । मधेसमा पहाडमा जस्तो पहाड फोरेर सडक बनाउनुपर्ने अवस्था नरहेको उनले स्मरण गरे । ओलीले भने, ‘केपी ओली मधेश विरोध हो भनेर हल्ला चलाए, केही स्वार्थी मान्छेहरुले । म आफैं मधेसको मान्छे । ६० वर्षदेखि म मधेशको बासिन्दा हुँ । ६० वर्षदेखि मधेशमा बसेको छु । मलाई इनार कसरी खन्नुपर्छ भन्ने थाहा छ । भैंसीको पिठ्यूमा, राँगाको पिठ्यूमा बसेर कसरी चराउनुपर्छ भन्ने थाहा छ । म त्यो तराईको मान्छे हुँ । त्यसैकारण सबभन्दा बढि विकास गर्न सजिलो तराई मधेश हो भन्ने लाग्दछ । यहाँ पहाडमा जस्तो पहरा फोरेर सडक बनाउनु पर्दैन ।’
यसैगरी केहि दिन अघि एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले अब मधेसलाई बेच्न छोड्न मधेसवादी दलहरुलाई चेतावनी दिए । उनले मधेसवादी दलका नेताहरुप्रति इङ्गित गर्दै अब मधेस र व्यापारीहरुलाई भजाउन सक्ने अवस्था नरहेको बताए । सरावगीले आगामी निर्वाचनमा मधेसको नाम भजाउनेहरुको हैसियत थाहा लाग्ने समेत बताए ।
मेयर सरावगीले मधेसवादी दलहरुले मधेशको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको पटकपटक दोहोर्याए ।

प्रतिक्रिया