उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्छु : उपराष्ट्रपति पुन

नेपालखोज २०७८ चैत २२ गते २०:५२

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधरणसभामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको मागलाई सम्बोधन गर्नको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधरणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेसन कार्यक्रममा उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्षजनशक्ति उत्पादनको लागि तालिम केन्द्र, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नु पर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बढाउन विशेष नीति लिन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘व्यवसायीहरुका धेरै समस्याहरु पनि रहेका छन् । उद्योगका लागि चाहिने दक्ष जनशक्ति तयार गर्न,तालिम केन्द्रको स्थापना गर्नु पर्ने,७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नु पर्ने,वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बढाउन विशेष नीति लिनु पर्ने व्यवसायीहरुका मागहरु रहेका छन् । म यी सबै मागहरु प्रति ध्यान दिन र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उपराष्ट्रपति पुनले नीजि क्षेत्रले वैदेशिक लगानी भित्र्याउनको लागि निर्यात व्यापार प्रवद्र्धनमा योगदान पुर्‍याउनु पर्ने बताउनु भयो । उनले मुलुकको अर्थतन्त्रमा आएको चुनौतीको कारण उद्योगी व्यवसायीहरुले विदेशमा नभएर स्वदेशमा नै लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘वैदेशिक लगानी भित्र्याउन निर्यात व्यापार प्रर्वद्धनमा योगदान पुर्‍याउन नीजि क्षेत्रलाई विशेष आग्रह गर्दछु । मैले कता कता सुन्ने गरेको छु श्रीलंकाको अवस्था देखेर नेपालमा पनि त्यस्तै हुने होइन भने नेपालका पुँजीपतिहरु तर्र्सिएर विदेशमा लगानी गर्ने सोच बनाइरहनु भएको छ भने यो दुखद कुरा हो । लगानी भित्र्याउनुको सट्टा नेपालमा भएको पुँजीलाई पनि बाहिर लान खोज्नु पक्कै पनि राम्रो होइन । यस्तो सोचले नेपाललाई अफ्ठ्यारो अवस्थामा लै जान्छ । नेपालका उद्योगीहरुले त्यस्तो नगरिदिन म आग्रह गर्दछु ।’

उपराष्ट्रपति पुनले पछिल्लो समय मुलुकको व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय बनेको बताए । उनले विगतमा नेपालले विदेशमा औधोगिक वस्तु निर्यात गर्ने भए पनि अहिले वस्तु उत्पादन गर्ने उद्योगहरु रुग्न बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे । दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामाग्री समेत आयात गरिरहेका भन्दै उपराष्ट्रपति पुनले यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने बताए । उनले भने, ‘अहिले नेपालको व्यापार घाटा जुन स्तरको छ । हाम्रो अर्थतन्त्रको लागि ज्यादै चिन्ताको विषय हो । रेमिटेन्समा निर्भर हामो अर्थतन्त्रमा व्यापार घाटाको निरन्तर वृद्धि सकारात्मक संकेत होइन । हामी जुन बेला जुन बस्तु निर्यात गथ्यौं । आज त्यही बस्तु आयात गरिरहेका छौं । चामल बेच्ने गरेका थियौं । आज धान फल्ने खेतहरु घरैघरले भरिएका छन् । जमिनहरु बाँझो छन् । औधोगीक वस्तुहरु बेच्ने गथ्र्यौ । आज त्यति बस्तुहरु उत्पादन गर्ने उद्योगहरु रुग्न छन्। हामी हाम्रो भान्छामा पाक्ने दैनिक उपभोग्य सामाग्री देखि ठूला निर्माण सामाग्रीसम्म आयात गरिहेका छौं । यो अवस्था जबसम्म रहिरहन्छ । हाम्रो अर्थतन्त्र सकारात्मक बन्न गाह्रो पर्छ । अर्थतन्त्रमा चुनौतीहरु रहन्छन् । यस्तो हुनुमा उद्योगी व्यवसायी र नागरिक जिम्मेवार छौं जस्तो लाग्छ ।’

उपराष्ट्रपति पुनले पछिल्लो समय उद्योगी व्यवसायीहरुले समेत उत्पादित वस्तु बिक्रि वितरण भन्दा पनि विदेशी बस्तु आयातमा जोड दिएको बताए । उनले यस्तो प्रवृतिमा सुधार ल्याउँदै सबै प्रकारको वस्तु देशभित्र नै उत्पादन गर्ने र स्वदेशी उत्पादनको उपभोग गर्ने सोचको विकास गर्न जरुरी रहेको बताए । उनले भने, ‘विदेशी वस्तु उपभोगमा हाम्रो ध्यान बढी जाने गरेको छ । स्वदेशी वस्तु खरिद बिक्रि भन्दा विदेशी वस्तु आयात र बिक्रि वितरणमा बढी ध्यान जान्छ । हामी हाम्रो उत्पादनको पवद्र्धनमा भन्दा मुनाफामा बढी ध्यान दिन्छौं । हाम्रोमा एउटा जबरजस्ता प्रविधिको विकास भइरहेको देखिन्छ । जसरी हुन्छ । नाफा कमाउने । हामीले यो प्रवृतिमा सुधार ल्याउँदै सकेसम्म सबै प्रकारको वस्तु देशभित्र नै उत्पादन गर्ने र स्वदेशी उत्पादनको उपभोग गर्ने सोचको विकास गर्न जरुरी देखिन्छ। उद्योगी व्यवसायीहरुलाई आग्रह छ । हामी स्वदेशी उत्पादनको विक्रि वितरणमा ध्यान दियौँ । व्यवसायीहरुले मुनाफा लिन्छन तर त्यसमा सेवाभव पनि हुन पर्छ । हाम्रो किसान उत्पादन गरेका साग सब्जी कुहिएर जान्छ । तर बाहिरबाट आएका विषादी वस्तु भान्छासम्म पुग्छ । हामीले हाम्रो सोचमा सुधार ल्याउनु पर्ने देखिन्छ ।’

उपराष्ट्रपति पुनले हामी उद्योगी व्यवसायी र सबै नागरिक जिम्मेवारी भएर स्वदेशमा उत्पादित वस्तुको प्रवद्र्धनमा जोड दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया