मंगलबार, जेठ ८, २०८१

कोभिड भइसकेकाहरु भाइरसबाट बढी सुरक्षित

नेपालखोज २०७८ चैत २३ गते ८:३१

काठमाडौं । एउटा नयाँ अध्ययनअनुसार जसलाइ पहिले कोभिड भइसकेको छ र जसले भ्याक्सिनसमेत लगाइसकेका छन् उनीहरु कोरोनाका साथै अन्य भाइरसहरुबाट बढी सुरक्षित हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार ‘मिश्रित प्रतिरोध क्षमता’ भएका मानिसहरु लाइ कोभिड-१९ भाइरसको असर पर्ने खतरा ती मानिसहरुको तुलनामा कम हुन्छ जसलाई पहिले कहिल्यै कोभिड भएको छैन । मिश्रित प्रतिरोध क्षमता भन्नाले वैज्ञानिकहरुको आशय त्यो इम्युनिटीप्रति इंगित छ जुन भ्याक्सिनको दुवै डोज लगाएको र कोभिड भइसकेपछि शरीरले आफैं तयार गरेका कारण संयुक्त रूपमा प्राप्त हुन्छ ।

दुई वर्षभित्र कोरोना भाइरसको महामारीका कारण संसारभर ६१ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी मानिस यो रोगबाट कम्तिमा एकपटक ग्रस्त भइसकेका छन् । यसैगरी अर्बौं मानिसले कोभिडविरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

मेडिकल जर्नल द लान्सेट इन्फेक्सियस डिजिजमा प्रकाशित यो अध्ययनका लागि वैज्ञानिकहरुले २०२० तथा २०२१ मा ब्राजिलका दुई लाख मानिसको स्वास्थ्य तथ्यांक अध्ययन गरेका थिए । ब्राजिल कोभिडले सर्वाधिक मृत्यु हुने मुलुकमा अमेरिका र भारतपछि तेस्रो स्थानमा छ ।

यो अध्ययनमा वैज्ञानिकहरुले के पाए भने जसलाई पहिले नै कोभिड भइसकेको छ र उनीहरुले फाइजर वा एस्ट्रोजेनेकाको भ्याक्सिन पनि लगाइसकेका छन् तिनीहरु कोभिडका कारण अस्पताल जाने वा मृत्युको मुखसम्म पुग्ने स्थितिबाट ९० प्रतिशतसम्म सुरक्षित छन् । चीनको कोरोनाभ्याकमा यो तथ्यांक ८१ प्रतिशत छ भने जोनसन एन्ड जोनसनको सिंगल डोजमा ५८ प्रतिशत ।

फेडरल युनिभर्सिटी अफ मातो ग्रोसो दो सल का शोधकर्ता हुलियो क्रोडा भन्छन्, ‘यी चारैवटा भ्याक्सिनले कोरोना भाइरसविरुद्ध मानिसहरुलाई अतिरिक्त सुरक्षा प्रदान गरे जसलाई पहिले कोभिड भइसकेको थियो ।’ वैज्ञानिकहरुका अनुसार प्राकृतिक रुपमा कोभिडबाट उत्पन्न शारीरिक क्षमता तथा भ्याक्सिनबाट प्राप्त इम्युनिटीका कारण बनेको मिश्रित प्रतिरोध क्षमता नै कोरोना भाइरसबाट लामो अवधिसम्म जोगाउन काम लाग्छ भने यसले अन्य नयाँ भाइरसबाट समेत सुरक्षित राख्छ ।

यस्तै किसिमको एक अर्को अध्ययन स्विडेनमा भएको थियो जसमा अक्टोबर २०२१ सम्मका कोभिड संक्रमितहरुको तथ्यांक अध्ययन गरिएको थियो । उक्त अध्ययनअनुसार जो कोभिड लागेर ठीक भएका थिए उनीहरुमा कोभिडविरुद्ध २० महिनाजति लडने क्षमता विकसित भएको थियो । यसैगरी जसमा कोरोना लाग्नुका साथै भ्याक्सिनका कारण हाइब्रिड इम्युनिटी विकसित भइसकेको थियो उनीहरुलाई कोरोनाले पुन: संक्रमित गर्ने खतरा ६६ प्रतिशतसम्म कम भइसकेको थियो ।

कतारमा प्रकाशित एक अन्य अध्ययन रिपोर्टमा ओमिक्र‍ोनमा यो हाइब्रिड इम्युनिटीले पार्ने असरका बारेमा केही जानकारी दिइएको छ । सार्वजनिक गर्नु पहिले अन्य विशेषज्ञहरुको टिप्पणीका लागि मेडआरएक्सआईबी वेबसाइटमा प्रकाशित उक्त अध्ययनमा भनिएको छ – भ्याक्सिनले ओमिक्रोनको बीए टु सबभेरियन्टविरुद्ध ५२ प्रतिशतसम्म प्रतिरोक्ष क्षमता उत्पन्न गरेको पाइयो भने जसलाई कोभिड भइसकेको थियो उनीहरुमा यस्तो प्रतिरोध क्षमता ७७ प्रतिशतसम्म पुगेको पाइयो ।
-एएफपीको सहयोगमा

प्रतिक्रिया