बुधबार, जेठ २, २०८१

के हो बौद्ध धर्म ?

नेपालखोज २०७८ चैत २३ गते ७:३१

बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो । ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो । बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौंदेखि पाँचौं शताब्दी ईसापूर्वसम्म जीवित थिए ।

उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो र अर्को दुई हजार वर्षमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोडभन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाँको चौथो सबैभन्दा ठूलो धर्मका रूपमा रहेको छ ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विनागुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् । उनलाई सम्यक सम्बुद्ध भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौँ सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन् ।

बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति । बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिँदैनथे । उनी भन्दथे, ‘भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउँछु : दु:ख र दु:खनिरोधको उपाय ।’ शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।

प्रतिक्रिया