राजेन्द्र जिपलाइनको सेवा लिन पाउँदा हर्षित (फोटो फिचर)

नेपालखोज २०७८ चैत २३ गते ११:३९

काठमाडाैं । राजेन्द्र लिङ्देनले जिपलाइनको सेवा लिन पाउँदा हर्षित भएको बताएका छन् । उनले मंगलबार बागलुङबाट फर्किने क्रममा जिप लाइनको मज्जा लिएको बताएका छन् ।

राजेन्द्र राष्ट्रिय राजनीतिमा यतिखेर चर्चाको केन्द्रमा छन् । कमल थापालाई पराजित गर्दै राप्रपाको नेतृत्व लिन सफल भएका राजेन्द्रलाई चुनाव नजिकिएसँगै विभिन्न जिल्लाको भ्रमण गरेर पार्टीमा नयाँ कार्यकर्तालाई स्वागत गर्न भ्याइ-नभ्याइ छ । उनी पार्टी प्रवेश कै कार्यक्रममा हिजो बागलुङ पुगे ।

बागलुङबाट फर्किदा जिपलाइनको मज्जा लिएर आनन्द लिएको उनले बताए । राजेन्द्रले भने, ‘बागलुङबाट फर्किने क्रममा केही क्षण समय चोरेर पर्वतको कुश्मामा युवा व्यवसायीहरूबाट संचालित जिपलाइन सेवा लिन पाउँदा अत्यन्तै हर्षित र आनन्दित छु। देशभित्रै गरिखान सकिन्छ र गरिखानुपर्छ भन्ने सोचबाट अगाडी बढिरहेका हार्नेस जिपलाइन प्रा.लि सम्बद्द युवा व्यावसायीहरुको पूर्ण सफलताको शुभकामना ।’

७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी पनि बन्न सकेन । राप्रपाको अस्तित्व समाप्त भएको चर्चा चुलिएको समयमा नेतृत्व परिवर्तन भयो र फेरि चर्चाको केन्द्रमा पुग्यो । राजेन्द्रले एकपटक मात्र विश्वास गरेर हेर्न अनुरोध गर्दै कहिले पूर्वमा पुग्छन् त कहिले पश्चिम । उनले परिवर्तन सम्भव भएको र त्यो राप्रपाको नेतृत्वमा मात्र सम्भव हुने दाबी गर्दै हिँडेका छन् ।

राजेन्द्रले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमा नै उम्मेदवार उठाउने तयारी गरेका छन् । उनले राप्रपाका उम्मेदवार जित्ने ठाउँमा शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता नि:शुल्क गर्ने बाचा गर्दै हिँडेका छन् । उनले जनतालाई धोका नदिने समेत बताउँदै आएका छन् ।

प्रतिक्रिया