शुक्रबार, वैशाख १४, २०८१

विनोद चाैधरीको सम्पत्ति बढ्यो, यी हुन् उनका लगानीका क्षेत्र

नेपालखोज २०७८ चैत २३ गते १६:५२

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोर्ब्सले भनेको छ । सन् २०१३ मा एक बिलियन डलर सम्पत्ति रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो । यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पत्ति सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो।

त्यसपछि सन् २०२० मा घटेर उनको सम्पत्ति १.४ बिलियन डलर पुग्यो । २०२१ मा स्थिर रहेको उनको सम्पत्ति पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो ।

प्रतिक्रिया