कुहिएको सत्ता गठबन्धन चाँडै टुट्छ : केपी ओली

नेपालखोज २०७८ चैत २३ गते १४:५२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेको चोभार सुख्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीनपटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ओलीले अहिलेको पाँंच दलीय गठबन्धन कुहिएको गठबन्धन भएको समेत बताए ।

गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । उनले भने, ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो । कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए । अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दरगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री देउवाले उद्घाटन गरेको बताएका हुन् ।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए । उनले भने, ‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ । जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेको घोषणापत्र जनतासँग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे । कांग्रेसको पटकपटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको ओलीको भनाइ थियो । उनले भने, ‘एमाले सरकारले विकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिनेछ ।’

ओलीले सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिँदै भने, ‘कुहिएको गठबन्धन झरेपछि फेरि मुलुकको विकासको बाटोमा अघि बढ्नेछ । परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको छ ।’

प्रतिक्रिया