नेपालले पायो थप ३२५ मेगावट विद्युत् बिक्रीको अनुमति

काठमाडौं । नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ । आज ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताएकी हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत् बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिइन् । मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत् अन्य देशमा समेत विक्री गर्न सक्ने बाटो खुल्ला भएको बताइन् ।
सरकारले विद्युत् बजार विस्तारको लागि भारत, बंलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाईन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरु निर्माण गर्ने बाटो खुल्ला भएको दाबी गरिन् । नेपालले आन्तरिक खपत पूरा गरेपछि बाँकि रहेको विद्युत् भारतीय बजारमा जाने र अरु देशमा पनि विद्युत् निर्यात गर्न सक्ने गरी बजारको ढोका खुलेको उल्लेख गरिन् ।
उनले यो अनुमति पाएसँगै दुई देशबीचको व्यापार घाटामा कमि आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वाससमेत व्यक्त गरिन् । मन्त्री भुसालले यसअघि २०७८ कार्तिकमा पहिलो चरणमा ३९ मेगावट विद्युत् भारतीय उर्जा एक्सचेन्ज आइएम्समा बिक्री गर्न स्वीकृति दिएकोमा अहिले थप ३२५ मेगावट भएको बताइन् ।
त्यस्तै मन्त्री भुसालले मुलुकभित्र उत्पादित विद्युत खपतको सुनिश्चिता नभएको कारण पीपीए रोकिएको बताइन् । उनले पुरानो नीतिअनुसार पीपीए सम्झौताको कोटा पूरा भएकाले रोकिएको बताइन् । मन्त्री भुसालले पछिल्लो समय विद्युतको घरायसी तथा उद्योगमा विद्युत् खपत बढ्दै गएको दाबी गरिन् । अहिले रुस र युक्रेनको युद्धको कारण विद्युत आपूर्तिमा समस्या हुँदा विद्युत् कटौती भएको भन्दै मन्त्री भुसालले अब सरकारले उद्योगहरुले माग जति विद्युत् दिन सक्ने दाबी गरिन् ।
मन्त्री भुषालले अन्य देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य विकल्प छैन तर नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि विद्युत् विकल्पमा रहेको दाबी गरिन्। सरकारले विद्युत् उत्पादन बढाउनको लागि अन्य ठूला आयोजनाहरु समेत निर्माणको तयारी गरिरहेको बताइन् ।

प्रतिक्रिया