यस्तो होस् मेरो उम्मेद्‌वार !

उत्तम पुडासैनी २०७८ चैत २४ गते १०:११

हाम्रा सामु अबको स्थानीय निर्वाचनमा तीन प्रकारका उम्मेद्‌वार खडा हुँदै छन् ।

१. टेस्टेड बट नट ट्रेस्टेड

२. ट्रेस्टेड बट नट टेस्टेड

३. टेस्टेड एन्ड ट्रेस्टेड टु

अवसर पाएका तर जनताको विश्वास जित्न नसकेका नेताहरु एकातर्फ रहन्छन् भने अर्कोतर्फ जनताले विश्वास त गरेका तर अवसर नपाएका नेताहरु रहन्छन् । अर्काथरी उम्मेद्‌वार अवसर पनि पाएका र जनताको विश्वास पनि जितेका उम्मेद्‌वार । आजका जनता त्यति धेरै मूर्ख पनि छैनन् । को कति पानीमा भन्ने सत्यताबाट टाढा पनि छैनन् । भोट दिनु भनेको विश्वास दिनु हो, भरोसा दिनु हो ।

पाँच वर्षका लागि आफ्नो सेवकको छनोट गर्ने सु-अवसर हो । स्मरण रहोस्, राजनीति कसैको बपौती होइन । कु-संस्कारी अनि कुनियत भएका मान्छेहरु राजनीतिमा योग्य हुँदैनन् । मौकाको सदुपयोग गर्न नजान्ने मान्छे राजनीतिमा टिक्दैनन् । पैसाको खोलो बगाएर गरिने राजनीति भ्रष्टाचारको पूर्वाभ्यास हो । यस्ता प्रवृत्तीका विरुद्ध खरो रुपमा उत्रने छौं । हामी चुपचाप पनि छैनौं र गुमनाम पनि होइनौं ।

कसैप्रति औंला ठड्याएका छैनौं, यसको अर्थ मौन सहमति पनि होइन । कम्तिमा पनि मेरो उम्मेदवार यस्तो होस् :

१. सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति होस् ।

२. वातावरण र पर्यावरणलाई बुझेको व्यक्ति होस् ।

३. नदी सभ्यतालाई बुझेको र नदी सफाईमा सकृय सहभागि भएको व्यक्ति होस् ।

४. शिक्षाको महत्त्वलाई राम्रोसँग अनुमान लगाउन सक्ने व्यक्ति होस् ।

५. विकास भनेकै बाटो हो भन्ने भ्रमबाट मुक्त व्यक्ति होस् ।

६. राष्ट्रियताप्रति सचेत व्यक्ति होस्, कम्तिमा उसको कोठामा राष्ट्रिय झन्डा होस् ।

७. जातिय संकीर्णता र क्षेत्रबादबाट मुक्त व्यक्ति होस् ।

८. थोरै बोल्ने र धेरै सुन्ने क्षमता भएको व्यक्ति होस् ।

९. अधिकार र कर्तव्यलाई एकसाथ बुझेको मान्छे होस् ।

१०. सभ्य होस्, शालिन होस् अनि सरल होस् ।

प्रतिक्रिया