मंगलबार, जेठ ८, २०८१

राष्ट्रिय टाइफाइड खोप अभियान चैत २५ गतेदेखि सुरु हुने

नेपालखोज २०७८ चैत २४ गते १६:४३

काठमाडाैं । सरकारले चैत्र २५ गतेदेखि सुरु गर्न लागेको टाइफाइड बिरुद्धको खोप अभियानको तयारी पूरा भएको बताएको छ । यही शुक्रवारदेखि सरकारले आगामी वर्षको बैशाख १८ गतेसम्म राष्ट्रिय टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानको पहिलाे चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान शुभारम्भ गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले यो अभियानमा लगभग ७५ लाख जनसंख्या हुने सरकारको अनुमान रहेको बताए । सह प्रवक्ता अधिकारीका अनुसार स्थानीय तहले सम्बन्धित स्थानीय तहमा रहेका विद्यालयसँग समन्वय गरेर विद्यालय जाने वर्गका बालबालिकालाई खोप लगाइनेछ । उनले सरकारले हालसम्म १२ प्रकारका विभिन्न रोगहरु बिरुद्धको खोप अभियान चलाइरहेको छ । टाइफाइड बिरुद्धको खोप अभियानसँगै सरकारले सञ्चालन गरेका खोप अभियान १३ वटा हुनेछन् ।

सह प्रवक्ता अधिकारीले टाइफाइडबिरुद्धको खोप सुरक्षित रहेको र यसले बिरामी हुने दरलाई कम गर्ने बताए । यसका कारण नकारात्मक असर पर्ने सम्भावना कम रहेको पनि बताए । सह प्रवक्ता अधिकारीले सबै किसिमका बालबालिकालाई यो खोप लगाउन उपयुक्त रहेको तर कसैलाई अन्य कुनै खोप लगाउँदा एलर्जी हुने, गाह्रो हुने, काट्दा धेरै रगत आएको र रगत जम्नेमा समस्या भएको व्यक्तिले स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया