शुक्रबार, जेठ ४, २०८१

भोलिदेखि देशभर टाइफाइड विरुद्धको खोप दिइँदै,बहाना नगरी काम सम्पन्न गर्न निर्देशन

नेपालखोज २०७८ चैत २४ गते १४:५२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा भोलिबाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको टाइफाइड विरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियानकर्ताहरुलाई कुनै बहाना नगरी खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकिरहेकोले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने भन्दै कुनै बहाना नगरी काममा लाग्नुपर्ने बताए । उनले नेपाल टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताए ।

यो अभियान भोलिबाट देशव्यापीरुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोप केन्द्रमा सञ्चालन हुने पनि उनले बताए । मन्त्री खतिवडाले यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रुपमा सुरु भइसकेको र अब टाइफाइड विरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा सुरु हुने बताए ।

मन्त्री खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापीरुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया