नागार्जुन नगरपालिकाको मेयरमा राजन कोइरालाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए । उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्देश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।
नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने समेत बताए । नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने पनि आफ्नो चुनावी घोषणापत्रमा समेटिएको कोइरालाले स्पष्ट पारे ।

नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरञ्जनका विभिन्न समावेशी कार्यक्रम संचालन गर्ने पनि आफ्नो योजना रहेको सुनाए । उनले आफू नगरपालिकाको प्रमुखमा निर्वाचित भएमा नगरपालिकामा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिने स्पष्ट पारे ।
उनले बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्द्धन गर्ने पनि प्रतिवद्धता समेत व्यक्त गरे । नागरिकहरुको प्रत्यक्ष सहभागिता हुनेगरी पाक्षिक ‘सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचालन गर्ने पनि उनले उद्घोष गरे । घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्नूपर्नेमा उनले जोड दिए ।
त्यस्तै, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले अहिलेसम्मका सबै राजनीतिक दलका नेताहरु आफू र आफ्नो परिवारको बारेमा मात्र सोच्ने गरेको आरोप लगाए । नागार्जुन नगरपालिकाका मतदाताले नगर विकासको लागि स्वतन्त्र उम्मेदवार राजन कोइरालाई मत दिनपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया