नवनियुक्त कानुनमन्त्री गोविन्द कोइरालालाई पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७८ चैत २४ गते १५:३४

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराएकी हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट मानिने बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ पनि दिएका थिए ।

बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एमसीसीको व्याख्यात्मक विश्लेषणका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोग लगाउने प्रक्रियामा पनि बडू र बन्दीले महत्वपूर्ण भूमिका खेलेका थिए । बडू कांग्रेसका केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिमका बडू कांग्रेस नेता रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेका थिए । उनले पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

जबराविरुद्ध महाभियोग ल्याउन भूमिका खेल्ने बडू र बन्दी दुवै पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया