दलीय राजनीतिको दलदलमा नेता चुर्लुम्म, देशले अपेक्षाकृत फड्को मार्न सकेन !

सुनील उलक २०७८ चैत २४ गते १५:५०

काठमाडौं । आज चैत्र २४ गते धेरैले शायद बिर्सि पनि सके होलान् । नेपालको दोस्रो जनआन्दोलन २०६२ चैत्र २४ गते सुरु भएको थियो । यस आन्दोलनलाई १९ दिने आन्दोलन पनि भनेर चिनिन्छ । यसै आन्दोलनको बलले नै नेपालमा गणतन्त्र स्थापना भएको थियो ।

२०६२ चैत्र २३ गतेको रातीदेखि देशका प्रमुख शहरहरुमा कर्फ्यूको घोषणा सरकारले गरिसकेको थियो । जनतामा एक प्रकारको त्रास जन्मिसकेको थियो । चैत्र २४ को बिहानदेखि सरकारको धरपकड कार्यक्रम सुरु भयो भने जनताको आन्दोलनको तयारी भयो । यहि पहिलो दिननै सिराहामा निस्केको जुलुसमा गोली प्रहार हुँदा दर्शनलाल यादवको मृत्यु भयो । पहिलो दिननै एक एक ब्यक्तिको मृत्युको समाचार आँधीझै फैलियो । देशभर आन्दोलनले उग्र रुप लिन पुग्यो । २६ गते ठाँउ ठाँउमा गोली प्रहार भयो ।

यसैदिन पोखरामा दुरसञ्चारको सुरक्षार्थ बसेको सैनिकले गोली चलाउँदा पोखराका भिमसेन दाहालको मृत्यु भयो । २७ गते चितवनबाट समाचार आयो, २६ गते गोली लागेर घाइते बनेकी तुलसा क्षेत्रीको निधन भयो भन्ने । यसैदिन बनेपामा पनि गोली लागेर शिवहरी कुँवरको मृत्यु भयो ।

२८ गते आन्दोलनमा शहिदप्रति श्रद्धाञ्जलिको कार्यक्रम सहिद मञ्चमा राखियो । यसैदिन गोंगबु, चाबहिल एवं कलंकीमा गोली प्रहार भएर निकै घाइते भए । चैत्र ३० गते नवलपरासीमा विष्णु पाण्डेको गोली लागेर मृत्यु भयो । ३१ गते देशैभरका चिकित्सकहरुले आन्दोलन प्रति ऐक्यवद्धता जनाएर हातमा कालो पट्टी बाँधेर काममा लागे । १ गते देशमा चर्केको आन्दोलन तथा प्रहरीको अत्यधिक दमनले गर्दा संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानबाट राजालार्इ विपक्षी दलहरुसँग वार्ता गर्न अनुरोध गरे ।

२ गते देशैभरका शिक्षक संगठन प्याव्सन एनप्याव्सनलगायत अविभावक संघले आन्दोलनमा साथ दिएको घोषणा गरे । ३ गते मन्त्रालय तथा अन्य कर्मचारी संगठनहरुले पनि आन्दोलनको समर्थनमा संयुक्त वक्तव्य निकाले । ४ गते आन्दोलन उग्र भयो भने राजाबाट पनि वार्ताको सुरुवात भयो । यसैदिन निजगढमा गोली लागेर हिरालाल गौतमको निधन भयो । ५ गते बैंकहरुले पनि बन्द गरे भने यसैदिन नेपालगञ्जमा सेतु बिकको गोली लागेर मृत्यु भयो । ६ गते काठमाडौंका जनताले १८ घण्टे कर्फ्यू झेले ।

यसैदिन झापामा भएको आन्दोलनमा गोली लागेर राजन गिरी तथा सुरज विश्वकर्माको निधन भयो । ७ गते सरकार अझ कठोर बन्यो । यसैदिन काठमाडौंमा बासु घिमिरे दिपक बिक तथा सगुन ताम्राकारको निधन भयो । साथै गुलरियामा यमलाल लामिछानेको पनि मृत्यु भयो । यसरी एकैदिन चार जना शहिद भए । ८ गते राजाबाट कार्यकारिणी अधिकार जनतालाई फिर्ता गर्ने घोषणा भयो । तर ९ गते राजाको यस घोषणाको विरोधमा जनता फेरी सडकमा निस्किए ।

१० गते संविधानविदहरुले राजालाई संसद पुनःस्थापना गर्न सकिने सुझाव दिए । बैशाख ११ गते राती साढे ११ बजे राजाबाट सात दलको माग पुरा गरे । सात दलको माग बमोजिमको घोषणा तथा संसद् पुनःस्थापनाको घोषणाले राती नै जनताले खुशियालीको जुलुस निकाले । यसरी चैत्र २४ देखि बैशाख ११ सम्मको १९ दिने जनआन्दोलन समाप्त भयो । जनताहरु बैशाख १२ गते सडकमा निस्किएर खुशियाली मनाउन थाले । यसरी आन्दोलनको समाप्ती पछि देशले छिट्टै निकास पाउने आशा जनतामा उब्जिएको थियो । तर देशले सोचे जस्तो निकास पाएन ।

दलीय राजनीतिको दलदलमा फसेका यहाँका नेता तथा कार्यकर्ता साना–साना स्वार्थहरुमा पनि अल्झीरहदाँ देशले अपेक्षाकृत विकासको मुहार हेर्न पाएनन् । वास्तविक जनताको पिडाप्रति देशका प्रमुख दलहरुले केही गर्न सकेनन् । आज जनआन्दोलनको १४औँ वर्षमा आइपुग्दा देशले राजनैतिक संकट होइन् देशले प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ । अप्रत्याशित विश्वभर फैलिएको महामारीको त्रासले जनता घरैभित्र कैद बसेर महामारीविरुद्ध आन्दोलन गर्नु परेको छ । आशा एवं विश्वास गरौं हामी छिट्टै यस संकटबाट पनि पार गर्नेछौ । तस्विर : विकास रौनियार

यो समाग्री हामीले सुनील उलकको सामाजिक सञ्जाल फेसबुकबाट लिएका हौं ।

प्रतिक्रिया