लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी निर्वाचन आचारसंहिताको पालना : नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचन निस्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो ।

पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी निर्वाचन आचारसंहीताको पालना गराउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो । त्यसैगरी निर्वाचन कानुनमा प्रधानमन्त्री र मन्त्रीहरुले प्रचार-प्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरुले आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिए ।

उनले निर्वाचन आचारसंहिताको कार्यान्वयन गराउने सन्दर्भमा जनताको बीचमा खुलस्त ढंगले जान पाउने गरी त्यसको कार्यान्वयनमा ध्यान दिन पनि निर्वाचन आयोगलाई अनुरोध गरिएको बताए । एमालेले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको उल्लेख गर्दै त्यसको प्रयोग सहज गराउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया