स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको आरोप (तस्विरसहित)

नेपालखोज २०७८ चैत २४ गते २०:२८

काठमाडौं । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्लेसँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको आरोप लगाएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरुलाई कुनै जानकारी नै नदिईकन ९ वटा सटर भत्काइनु र ४ वटामा तालावन्दी गर्नु खेदजनक कार्य भएको संगठनको भनाई ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आँफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । साथै, उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए ।

त्यस्तै, उनले काठमाडौं महानगरपालिका र ठेकेदारले व्यापारीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारे । कोरोनाले थलिएका व्यापारीहरुलाई सरकारले राहत दिनुपर्ने ठाउँमा उल्टो सिध्याउन खोजेको उनको आरोप थियो ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिलाबहादुर दाहालले गरिवी उन्मूलन गर्छु भन्ने सरकारले आफ्नो व्यापार तथा व्यवसाय गरेर बसेका व्यवसायीमाथि अवरोध सिर्जना गर्नु आपत्तिजनक विषय भएको बताए । उनले महानगरपालिकाले कर तिरेर व्यापार÷व्यवसाय गरेर बसेका व्यापारीहरुलाई विभिन्न बहानामा धम्क्याउने र ताला लगाउने काम तत्काल बन्द नगरे महानगरविरुद्ध आन्दोलन सिर्जना गरेर सशक्त रुपमा अगाडि बढ्ने चेतावनी दिए ।

एकीकृत ट्रेड युनियन महासंघ नेपालका सचिव प्रेमबहादुर कार्कीले सडकमा बसेर व्यापार गर्ने कसैको रहर नभएको भन्दै राज्यले कानुन बनाएर सडक व्यापारीहरुलाई व्यवस्थापन गर्नुपर्नेे धारणा राखे । उनले काठमाडौं महानगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा स्वरोजगार श्रमिकमाथि आतंक मच्चाएको भन्दै महानगरको यस कार्यप्रति महासंघको ध्यानाकर्षण भएको बताए ।

साथै, उनले एउटा ठेकेदारको उक्साहटमा महानगरपालिकाले स्वरोजगार श्रमिकमाथि जाइलाग्ने काम निन्दनीय र भत्र्सनायोग्य रहेको पनि टिप्पणी गरे । स्थानीय सरकारले माफिया र बिचौलीया ठेकेदारको निर्देशनमा श्रमिकहरुको हातमुख जोड्ने भाँडोमा ताला झुन्ड्याउने काम गरेको उनको आरोप थियो ।

प्रतिक्रिया