देशमा तरलताको स्थिति भए पनि संकट छैन : मन्त्री भुसाल

नेपालखोज २०७८ चैत २५ गते १३:४७

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उनले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताएका हुन् ।

पहाडी र हिमाली भेगमा सिँचाइ पु उन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनले बताए । उनले भने, ‘हाम्रो उर्वरा जमिन एकदम घनिभुत ढंगले तराई, मधेश हो । हाम्रो सबै राष्ट्रिय गौरव लगायतका आयोजनाहरु तराई केन्द्रीत छन् । तर फेरी उर्वरा जमिन पहाडमा पनि छ । हिमाली भेगमा पनि छ । हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभुतिको विषय हो । अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जग्गा जमिनमा सिँचाइको व्यवस्था पुर्‍याउँ ।’

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताए । उनले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताए । उनले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिए । उजले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताए ।

प्रतिक्रिया