सत्ता गठबन्धन हाइकमान्डले देशव्यापी चुनावी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ । शुक्रबार बालुवाटारमा शीर्ष तहमा भएको छलफलमा सत्ता गठबन्धनका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका हुन् ।
गठबन्धन दलका हाइकमान्ड नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो । रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको बताइएको छ । गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको समेत बताइएको छ । सायद एक दुई दिनभित्रै वक्तव्य आउने समेत बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
छलफल भइरहेको भए पनि ठोस रुपमा टुंगो लाग्न बाँकी रहेको सहभागी ती नेताले बताए । शुक्रबार रातिबाट निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको घोषणा गर्ने भएकाले पनि संयुक्त वक्तव्य छिट्टै जारी गर्ने सहमती भएको बताइएको छ । गठबन्धनको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त गर्ने निर्णय गरेसँगै चुनावमा तालमेल हुने पक्कापक्की भएको हो ।
गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् । गठबन्धनमा देखिएका समस्याबारे छलफल भएपछि दलका नेताहरुबीच अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे घनिभूत छलफल भएको हो ।
छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका नेता झलनाथ खनाल लगायत सहभागी थिए । सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।
बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइन्छ । बैठकमा सहभागी एक नेताका अनुसार समस्या देखिएका जिल्ला र स्थानीय तहमा केन्द्रबाट नै निर्णय गर्न सकिनेबारे छलफल सुरु भएको छ ।

प्रतिक्रिया