बारमा सत्ता गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी, एमालेको प्यानलै हार्‍यो

नेपालखोज २०७८ चैत २५ गते १५:५४

काठमाड । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरेले बाजी मारेका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।

नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार अधिकारीलाई पराजित गरेका हुन् ।

कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

अधिकारीको प्यानल नै पराजित भएको छ । योसँगै बारको नेतृत्व कांग्रेस निकट घिमिरेको काँधमा पुगेको छ ।

प्रतिक्रिया