आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

नेपालखोज २०७८ चैत २५ गते १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवर्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्धन नगर्न आग्रह गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रममा उनले भनिन, ‘स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवर्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ ।’ व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको बताइन् ।

हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्यांकले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउँदै उनले बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवर्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक लगेको र उनिहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यकपर्ने बताए ।

प्रतिक्रिया