नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको प्यानल विजयी

काठमाडौं । नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् ।
आज बारको मतदानको मत परिणाम आएसँगै नेपाली कांग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका छन् । घिमिरेसँगै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको प्यानल नै विजयी भएको छ ।
गठबन्धनको प्यानलले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो । घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी अधिकारीले २४ सय ८२ मत ल्याएका थिए ।
जितसँगै नेपाल बार परिशरमा विजयी टोलीलाई खादा, फूलमाला र अभीरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए । उनले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानुनकर्मीको उत्पादनमा जोड दिने बताए ।

प्रतिक्रिया