आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही : आयोग

नेपालखोज २०७८ चैत २५ गते १८:१७

काठमाडाैं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लंघन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचारसंहिता उल्लघंन गर्ने जो कसैलाई कानुन बमोजिम कारवाही गर्न आयोग तयार छ । त्यस्तो छुट हुनेछैन ।’

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध ढंगले मताधिकार प्रयोग गरी लोकतन्त्र सुदृढीकरण गर्न सबैले प्रयास गर्नुपर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना र दण्ड सजाय गराउने वा उम्मेदवारी रद्दसमेत गर्न सक्ने बताए ।

पौडेलले इमानदारिताको अभ्यास गर्न पनि सुझाए । उनले भने, ‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्सनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने सन्दर्भमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रत्येक निर्वाचनहरूमा आचारसंहिता कार्यान्वयनबारे प्रश्न उठ्ने गरेको पनि बताए । उनले आयोगले आचारसंहिता कार्यान्वयनका सवालमा आयोगले गरेको सरोकारवालाहरु सँगको छलफलमा सवैले कार्यन्वयन गर्न प्रतिवद्धता जनाउने गरेको बताए । उनले भने, ‘सवैले मन वचन र कर्मले कार्यान्वयन गर्न चाहे उल्लंघन हुँदैन ।’

थपलियाले २०७४ मा निर्वाचित पदाधिकारीले उम्मेदवारी दिन चाहे पदबाट राजीनामा दिनुपर्ने व्यवस्था स्वयं उम्मेदवारले स्वघोषणा गर्नुपर्ने पनि बताए । साथै उनले ठेकेदारहरूले उम्मेदवारी दिनुपर्ने व्यवस्थाबारे पनि दुविधा नरहेको प्रस्ट पारे ।निर्वाचन आयोगले आचारसंहिता अनुसार दल र उम्मेदवारले मात्रै सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने जनाएको छ ।त्यस्तै निर्वाचन प्रचारका लागि झोला, क्याप, टिसर्ट लगायतका सामाग्री बनाउन वा वितरणसमेत गर्न नपाउने व्यवस्था आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

अनुगमन नभएका कारण आचारसंहिता मिचिने अवस्था नआउने भन्दै आचारसंहिताबारे मिश्रित प्रतिकृया आएको बताए ।एमालेले जनाएको असहमतिप्रति पनि आयोगको ध्यानाकर्षण भएको भन्दै कार्यान्वयन हुनेमा आयोग विश्वस्त रहेको थपलियाको भनाइ छ । निर्वाचनमा ४८ सालदेखि आचारसंहितामा मन्त्री पदमा रहेका व्यक्तिले आफूबाहेक अरुको प्रचार प्रसार गर्न नपाउने व्यवस्था गरेको दावी गरे । उनले आचारसंहिता कार्यन्वयनको विषयमा केही विषय आयो भने स्पस्ट पार्ने तर संशोधन नगर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया