आयोगले भन्यो- आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य हुने छैन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
आज निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताएका हुन् ।
निर्वाचनको आचारसंहिता उल्लंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले स्पष्ट पारे । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।
निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाईने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
आगामी वैशाख ३० गते हुने पालिका चुनावका लागि आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको थपलियाले बताए। आचारसंहिता यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहितामा गर्न पाइने र गर्न नपाइने कुरा खुलाइएको छ । आचारसंहितामा शैक्षिक संस्थामा निर्वाचनसम्बन्धी भेला, प्रचार गर्न नहुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया