सरकारले गर्यो गभर्नर अधिकारीलाई निलम्बन

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको स्रोतको दाबी छ । अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई कामुको जिम्मा दिएको जनाइएको छ ।
विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो । उक्त टोलीमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ थिए ।
त्यसको भोलिपल्ट अर्थात आज गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाइएको छ । उनीमाथि लागेको आरोपबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ ।
समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो ।

प्रतिक्रिया