महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

नेपालखोज २०७८ चैत २६ गते ७:३२

झापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेद्वारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन् ।

सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि २० लाखदेखि २५ लाख रूपैयाँसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन् । ‘टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन’, विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्य भन्छिन्, ‘२५ लाख खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन् । घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिदैन ।’

महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको उनी बताउँछन् । वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुङ्गाना पनि आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउँछन् । विगतमा जनताको मन जितेकाले र फेरी मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निरास हुने परिस्थिति सिर्जना भएको उनी बताउछन् ।

सदस्य कोइराला भन्छन्, ‘पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ ।’ महिलाको नाममा सम्पति भए पनि खर्च गर्ने अधिकार नहुँदा समस्या भएको वडा नम्बर १ की सदस्य भावना आचार्य बताउँछन् ।

पैसाको आधारमा भन्दा पनि राजनीतिमा गरेको योगदानका आधारमा टिकट नदिए सक्षम र क्षमतावान् महिला राजनीतिबाट ओझेल पर्ने झापाली महिलाहरुको गुनासो छ । उनीहरुले चुनाव भड्किलो र खर्चिलो भएका कारण राजनीतिक भ्रष्टाचार मौलाउन थालेको टिप्पणी गरेका छन् ।

झापामा मेचीनगर, विर्तामोड, भद्रपुर र दमक नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाका उपप्रमुखहरुले आगामी निर्वाचनमा मुख्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । रासस

प्रतिक्रिया