अटेरी अभियानले निर्वाचन आचारसंहिता सार्वजनिक गर्यो

कास्की । स्थानीय तहको निर्वाचनमा मुलुक होमिदै गएको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारी तिब्र पारेको छ । त्यस्तै चुनाव नजिकिएसँगै नेताहरुले दौडधुपमा तिव्रता दिँदैछन् । चुनावकै सेरोफेरोमा अटेरी अभियानले पनि आफ्नो चुनावी आचारसंहिता सार्वजनिक गरेको छ । पोखरा–९ नयाँबजार, कास्कीमा कार्यालय रहेको अटेरी अभियानको आचारसंहितमा के गर्न पाईने ? र के नपाइने भन्ने उल्लेख गरिएको छ ।
अटेरी अभियान यौटा आन्दोलन हो, राजनीतिक दल होइन । अभियानमा जोडिएका कुनै पनि उम्मेदवारलाई अभियानले उठाएको होइन । अभियानअन्तर्गत सबै उम्मेदवार आफ्नै विवेकले स्वतन्त्र रुपमा उठ्ने छन् । उम्मेदवार तथा अभियन्ताका कमजोरीहरू व्यक्तिगत हुने तथा सबलता र सहकार्य मात्रै अभियानका हिस्सा हुने अभियानले जनाएको छ ।
आचारसंहिता अटेरी अभियानका सम्पूर्ण अभियन्ता, उम्मेदवार तथा समर्थकहरूका लागि निर्माण गरिएको जनाइएको छ । यसका केही बुँदाहरू चुनावकेन्द्रित छन् भने केही सर्वकालीन रहेका छन् । बुँदामा उल्लेखित विषयहरू पालना नगरेमा कुनै पनि अभियन्ता अटेरी अभियन्ता नहुने उल्लेख छ । कुनै पनि उम्मेदवार अटेरी अभियान अन्तरगतको उम्मेदवार नरहने पनि जनाइएको छ । उनीहरूको संलग्नता स्वतः खारेज भएको मानिने आचारसंहितामा उल्लेख छ ।
कुनै पनि औपचारिक कार्यक्रम सहिदहरूप्रति सम्मानपूर्वक मौन धारण गरेर मात्रै सुरु गर्नु पर्ने, गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समानुपातिक र समावेशी लोकतन्त्र जस्ता संविधानका आधारभूत बिषयमा विवादास्पद वा परिस्कारवादी अभिव्यक्ति दिन नहुने, राष्ट्रको गरीमा तथा सार्वभौमिकतामा आँच पु¥याउने खालका कुनै पनि गतिविधि गर्नु नहुने, कुनै पनि औपचारिक वा अनौपचारिक जमघटमा तथा सामाजिक सञ्जालमा समेत टिप्पणी गर्न नहुने अटेरी अभियानको आचारसंहितामा उल्लेख छ ।
यस्तै कुनै पनि व्यक्तिको जातीय, धार्मिक, पारम्परिक, साँस्कृतिक, लैंगिक वा अन्य कुनै प्रकारको पहिचानलाई अपमान गर्ने गरी अभिव्यक्ति राख्नु वा क्रियाकपाल गर्न नहुने, यौनिक पहिचान, पेशा–व्यवसाय, शारिरिक फरक क्षमता आदिको आधारमा कसैको अपमान हुने गरी कुनै पनि अभिव्यक्ति दिन नहुने अटेरी अभियानको आचारसंहितामा उल्लेख छ ।
यसैगरी चुनावको अवधिसम्म आफ्नो सामाजिक सञ्जालको खातामा अभियानलाई असर गर्न सक्ने अन्य वैयक्तिक विचार, चित्र, भिडियो वा अडियो पोष्ट गर्न नपाइने, कुनै पनि जमघट वा कार्यक्रममा कुनै पनि बहानामा बालबालिकालाई ल्याउन नपाइने, अभियन्ता तथा उम्मेदवारले कुनै दल वा उम्मेदवारको खराब अभ्यास र क्रियाकलापको विरोध गरिरहँदा बहुदलीय लोकतन्त्रको विरोध गर्न नहुने, उम्मेदवारी दर्ता गराइसकेपछि चुनावको दिन अर्थात बैशाख ३० गतेसम्म कुनै पनि उम्मेदवारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण गर्न नहुने, सकेसम्म आफ्नो निर्वाचन क्षेत्र समेत छोडेर जान नहुनेअटेरी आचारसंहितामा उल्लेख छ ।
यसैगरी अटेरी अभियान अन्तरगतका हरेक उम्मेदवारले आफ्नो मतदाता वा अन्य नेपाली नागरिकले समेत मागेको खण्डमा आफ्नो बारेको कुनै पनि सूचना दिनु पर्नेछ । तर यसरी सूचना दिदाँ आफूसम्बद्ध अन्य व्यक्तिको गोपनीयताको अधिकारलाई हनन गर्न पाइने छैन । कुनै पनि मुलुक वा त्यहाँका जनताको सार्वमौमिकतामा आँच आउने वा तिनको अपमान गर्ने प्रकारको अभिव्यक्त दिनु वा क्रियाकलाप गर्न नपाइने उल्लेख छ । यस्तै अटेरी अभियानले ल्याएको आचारसंहिताबाहेक निर्वाचन आयोगको आचारसंहितालाई पनि ख्याल गर्नुपर्ने अभियानले जनाएको छ । अभियानले १७ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो ।

प्रतिक्रिया