कामपा वडा ४ को वडा अध्यक्षमा पत्रकार भण्डारीले उम्मेदवारी दिने

काठमाडौं । स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला पार्टी कार्यकर्ताहरु मात्र नभएर सञ्चारकर्मीहरुको पनि उत्तिकै चर्चा चल्न थालेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तासँगै पत्रकारहरुले पनि मेयर र उपमेयरमा दाबी गरिरहेका छन् ।
त्यसै मेसोमा पत्रकार एवं अहिले कृषि पत्रकार महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका वैकुण्ठ भण्डारीले पनि काठमाडौं महानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने दाबी गरेका छन् ।
काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये ठूलो वडामा पर्ने वडा नं. ४ मा अघिल्लो स्थानीय निर्वाचनमा थोरै मतान्तरले नेकपा एमालेका तर्फबाट मोहन विष्ट निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वीका रुपमा रहेका नेपाली कांग्रेसका अनिश सापकोटाले झिनो मतले हारेका थिए ।
काठमाडौं वडा नंं. ४ को अध्यक्षमा स्वतन्त्र उम्मेदार बन्न लागेका भण्डारी विगत २५ वर्षदेखि पत्रकारिता तथा नाट्य क्षेत्रमा क्रियाशील छन् । नेपाल नाट्य संस्था महासंघका संस्थापक अध्यक्ष, कृषि पत्रकार महासंघका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद्समेत रहेका भण्डारी २०६३ सालमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा स्वतन्त्र उम्मेदवारबाटै कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
भण्डारी यतिखेर नेपाल टेलिभिजनबाट प्रशारण हुने काठमाडौं महानगरपालिकाको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाण्डौंका कार्यक्रम निर्माता एवं प्रस्तोता समेत छन् । पछिल्लो एक दशकदेखि सुशासनका लागि र भ्रष्टाचारविरुद्धको अभियानमा खरो उत्रिएका भण्डारी काठमाडौं महानगरपालिकालाई नजिकबाट चिन्नेरबुझ्ने व्यक्तिमध्येमा पर्दछन् ।

प्रतिक्रिया