गौतमबुद्ध क्रिकेट रंगशालाको काम अब अघि बढ्छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । प्रज्ञा-स्मृति प्रतिष्ठानको आयोजनामा चितवनमा भएको भरतपुर साइक्लिङ म्याराथन, २०७८ को समापनका अवसरमा प्रचण्डले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताउँदै उनले भने, ‘निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागर गरेको छ।’ निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु हुने छ ।’
साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अंगका रूपमा रहेको भन्दै उनले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गरे । पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथन गरेर अनुकरणीय काम गरेको बताए ।
उनले साइक्लिङ खेललाई प्रर्वधन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रर्वधन र आर्थिक वृद्धि विकास गर्न सकिने उल्लेख गरेका थिए ।
उनले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए । राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकूद समितिले सोहीबमोजिम आफ्ना गतिविधि अगाडि बढाएको बताए ।
प्रतिक्रिया