सरकारको वास्तविक किसानलाई नछुने नीतिले किसानहरुको मनोबल घट्दै

नेपालखोज २०७८ चैत २७ गते १४:१८

काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर किसानहरुको पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । आज खाद्यका लागि कृषि अभियानले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताएका हुन् ।

उनले कृषिलाई दीर्घकालीनरुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारहरुको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताए । संयोजक अधिकारीले स्थानीय तहको निर्वाचनमा हरेक पार्टीले आफ्नो घोषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र प्राङ्गारिक कृषिलाई अघि बढाउनु पर्ने कुरामा जोड दिन आवश्यक रहेको बताए ।

उनले केही दलहरुका पार्टीका घोषणापत्रमा आगामी १० वर्षमा नेपाललाई प्राङ्गारिक देश बनाउने भनिए पनि रासयनिक मल कारखाना खोल्ने कुरामा पनि त्यत्तिकै जोड दिएको बताए । संयोजक अधिकारीले नेपालमा रैथाने बीउ बिजनहरु ध्वस्त भएको भन्दै कृषिलाई बचाउने कुराको सबैले मनन गर्नुपर्ने बताए ।

संयोजक अधिकारीले आजका किसान सरकारले बनाउन खाजेको कृत्रिम किसान भएको भन्दै वास्तविक किसानहरु अझै पनि सरकारको मापदण्डमा नरहेको उल्लेख गरे । उनले सरकारले वास्तविक किसानलाई नछुने नीति ल्याउँदा वास्तविक किसानहरुको मनोबल घट्दै गएको र आज किसान भनेको एउटा कम्पनी जस्तो भएको बताए ।

प्रतिक्रिया