बिहीबार, जेठ ३, २०८१

आज रामनवमी पर्व देशभर मनाइँदै

नेपालखोज २०७८ चैत २७ गते १४:०१

काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पुजाअर्चना गरी मनाइँदै छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिएका भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका रामचन्द्र मन्दिरहरुमा आज भगवान श्रीरामको पुजाअर्चना गरी यो पर्व मनाइँदै छ । काठमाडौंको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पुजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको र भक्तजनहरुले भजन, किर्तनसहित पुजा आराधना गरिरहेका छन् ।

भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उनलाई उच्च सम्मान गरी पुजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताए ।

वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मुर्ति रहेको छ । आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको र मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ । पुजा आराधनालाई सभ्य र व्यवस्थित बनाउनका लागि स्वयमसेवक पनि परिचालन गरिएको सदस्यसचिव टण्डनले बताए । आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया