व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति ल्याउन सरकारसँग सभामुख सापकोटाको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे । नेपाल चेम्बर कमर्शले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे ।
सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गर्दै निष्ठापूर्वक सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पारे ।
उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुने भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि बताए । मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्पस्ट पारे ।

प्रतिक्रिया