सरकारका कारण अर्थतन्त्र डामाडोल, दोषजति गभर्नरको थाप्लोमा

कठमाडौं । प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेकपा एमालेले सरकारले आफ्नो कमी कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ ।
एमाले आज आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले अर्थतन्त्र सुधार गर्न नसकेको सरकारले आफ्नो कमजोरी छोप्न गभर्नरलाई निशाना बनाएको आरोप लगाएका हुन् ।
‘गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । यो सरकारले प्रायोजितरुपमा गभर्नरमाथि सुरु गरेको कारबाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ’- तीन अर्थमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, उनिहरुले गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको पनि आरोप लगाएका छन् । गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासन विरोधी आफ्नो सक्कली रुप देखाएको टिप्पणी गरेका छन्।
‘गठबन्धन सरकारका नीतिहरू संगतिपूर्ण छैनन्। यो गठबन्धन सरकारमा सहभागी दलहरुबीच समग्र आर्थिक नीति, द्विपक्षीय तथा बहुपक्षीय सहायता परिचालन, अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका जस्ता आधारभूत विकासका अवधारणामा नै विरोधाभाष रहेको तथ्य त सडकमा नै छताछुल्ल भएको छ’- विज्ञप्तिमा भनिएको छ ।
गठबन्धन जोगाउने बाहेक कुनै सोच नभएको सरकारले समग्र विकासका लागि पुँजी बजारको विकास, दातृ निकायको सहयोग, निजी क्षेत्रको स्रोत र क्षमता परिचालन तथा आर्थिक क्षेत्रको संरचनात्मक सुधारमा ध्यान दिने अपेक्षा नरहेको पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया