नेपाल बास्केट बल लिग जेठ दोस्रो साताबाट

नेपालखोज २०७८ चैत २७ गते १६:१०

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो ।

दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन । प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने छन् । पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् ।

लिगमा पुरुषतर्फ ८ टोलीले सहभागिता रहने छन् भने महिला तर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन् ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए । प्रतियोगितामा एक टोलीले ४ विदेशी खेलाडी समावेश गर्न पाउनेछन् भने दुई खेलाडीले कोर्टमा खेल्न पाउने प्रावधान तोकिएको छ ।

एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिलाको विजेताले १ लाख रुपैयाँ पाउनेछ । पुरुषतर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन् ।

यस्तै हरेक खेलमा मस्ट भ्यालुएवल खेलाडीले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गर्ने छन् । लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ भौचर प्रदान गरिनेछ ।

प्रतिक्रिया