उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा आजबाट

नेपालखोज २०७८ चैत २८ गते ७:३५

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा आजबाट काठमाडौंमा सुरु हुँदैछ । वार्षिक साधारण सभाको उद्घाटनसँगै उद्योग वाणिज्य दिवस २०७८ को पनि उद्घाटन हुने छ ।

वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजे होटेल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच उदघान गर्ने छन् । साधारण सभाको उद्घाटन समारोहमा सांसदहरु, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरु, वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थविद, उद्यमी व्यवसायीलगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने छ ।

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भाग लिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

उद्घाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता, उद्यमी व्यवसायीहरुको सहभागितामा वृहत् छलफल गरिने छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।

वि.सं २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य १७४८ रहेको छ ।

प्रतिक्रिया