विवेकशील साझा पार्टीले काठमाडौंमा मेयर र उपमेयर उम्मेदवार चयन गर्‍याे‍

नेपालखोज २०७८ चैत २८ गते ११:५४

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमशः समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।

समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन् । दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन् ।

विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले भनिन्, ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने’ भएको छ । बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघिय निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन् । विवेकशील साझा पार्टी सम्पूर्ण महानगरवासीलाई यस पटक ‘एक मौका’ हामीलाई दिन विनम्र आग्रह गरेको छ ।

प्रतिक्रिया