‘साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम सरकार सँग छ’

नेपालखोज २०७८ चैत २८ गते १५:५३

काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन् ।

उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको र रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताए । पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरे आर्थिक संंकटको समाधान हुने बताए ।

उपमहासचिव पौडेलले भने, ‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाव आउँछ । उद्योगीहरु पनि ब्ल्याकलिस्टमा पर्दैनन् । काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ । तत्काल गर्न सकिने भनेको सबै उद्योग, व्यवसायीहरुको ऋण, जसले तिर्न नसकेको छ, उनीहरुलाई पुनः पूँजीकरणको सुविधा दिने काम गर्न सकिन्छ ।’ त्यस्तै पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने समेत स्पस्ट पारे ।

प्रतिक्रिया