नेपाली क्रिकेट टिम अमेरिका तथा क्यानडा जाने

काठमाडौं । आइसीसीको क्यालेन्डरअनुसार नेपाली क्रिकेट टिमले जुन र जुलाई महिनामा अमेरिका र स्कटल्यान्डमा एक दिवसीय शृंखला खेल्दै छ ।
आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत नेपालले नर्थ क्यारोलिनास्थित मोरिसभिलमा आगामी जुन ७ देखि १४ सम्म अमेरिका र ओमानसँग त्रिदेशीय शृंखला खेल्नेछ ।
यसैगरी नेपाली क्रिकेट टिमले क्यानाडाको राष्ट्रिय टिमसँग दुईवटा टी-२० तथा तीनवटा वन-डे खेल खेल्ने भएको छ । अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा सहभागी हुन जानुअघि नेपाली क्रिकेट टिम क्यानाडा जान लागेको हो । मे महिनाको तेस्रो साता हुने नेपाली टिमको क्यानाडा भ्रमण १० दिनको हुनेछ । जुनको दोस्रो साता भने नेपालले अमेरिकामा त्रिदेशीय श्रृंखला खेल्नेछ ।
नेपालले क्यानाडामा खेल्ने टी-२० का खेलहरु टोरन्टोस्थित नर्थ योर्कको किङ सिटी मैदानमा खेलिने नेप्लिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले बताए । तीनवटा वन-डे खेलहरुका लागि भने स्थान टुंगो लगाउन बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।
नेपाली टिमले क्यानाडाका ब्राम्प्टन र मिसिसागामा रहेका क्रिकेट मैदानमा अभ्यास गर्ने क्लबका सचिव तथा मिडिया टिम को-अर्डिनेटर विनय यादवले जनाएका छन् ।
नेपाली टिमको क्यानाडा भ्रमणका अवसरमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान), क्रिकेट क्यानाडा तथा नेप्लिज क्यानेडियन क्रिकेट क्लबबीच अन्तर्क्रिया पनि गरिने भएको छ। क्यानाडामा नेपाली टिमको भव्य स्वागत गर्ने नेप्लिज क्यानेडियन क्रिकेट क्लबको योजना छ ।
प्रतिक्रिया