शुक्रबार, वैशाख २१, २०८१

भन्सार छलेर ल्याएको सामानसहित दुईजना पक्राउ

रासस २०७८ चैत २९ गते ९:४२

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० रुपैयाँ मूल्यबराबरको कपडासहित काठमाडौं महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौं महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका–२४, असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेलापरेको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया