शुक्रबार, वैशाख २१, २०८१

स्वदेशमा पनि श्रमस्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी

श्रम स्वीकृति ‘अनावश्यक’ रहेको विभागकै तर्क

नेपालखोज २०७८ चैत २९ गते ११:२३

काठमाडौं । नेपाली कामदारहरूले विदेशमा काम गर्न जाँदा स्वदेशमा पनि श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी अघि बढाइएको छ । वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा त्यससम्बन्धी प्रस्ताव नै गरेको छ ।

विभागका अनुसार उक्त प्रक्रिया अघि बढाउँदा केही ऐन एवं नियमावली संशोधन गर्नुपर्ने भएको छ । अहिलेको व्यवस्थाअनुसार नेपाली कामदार जाने गन्तव्य मुलुकको श्रम स्वीकृति लिनुपर्छ । यस्तै नेपालबाट पनि श्रम स्वीकृति लिनुपर्दा दोहोरो अवस्था छ । नेपालले श्रम स्वीकृति नदिएसम्म कामदारहरू वैधानिक रूपमा कामका लागि विदेश जान पाउँदैनन् ।

श्रमस्वीकृति अनावश्यक नै हो ?

कामका लागि विदेश जाने नेपालीहरूले स्वदेशबाट पनि श्रम स्वीकृति लिनुपर्ने विद्यमान व्यवस्था ‘अनावश्यक’ रहेको विभागकै कर्मचारीहरूको तर्क छ । ‘विगतमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने नाममा सरलीकरण गर्नुपर्थ्याे, प्रक्रियाहरू घटाउनु पर्थ्याे । तर गौँडामाथि गौँडा थपियो । जति धेरै कसिन्छ त्यति व्यवस्थित हुन्छ भन्ने हाम्रो बुझाइ रह्यो,’ विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘त्यसले गर्दा वैदेशिक रोजगारका प्रक्रियाहरू सर्वसाधारण नागरिकका लागि आफैँ काम गरेर पार गर्ने अवस्था रहेन र जति धेरै गौँडा भयो त्यति धेरै ठगी भयो। लागत र समय पनि बढ्यो ।’

श्रम स्वीकृति गन्तव्य मुलुकले दिने विषय भए पनि नेपालबाट समेत स्वीकृति लिन लगाउनु उपयुक्त नभएको पौडेलको भनाइ छ । ‘सम्बन्धित देशले नै श्रम स्वीकृति दिइसकेपछि हामीले श्रम स्वीकृतिको नाममा कामदारलाई यति लामो समय अल्झाउनु हुँदैन,’ उनले भने ।

नेपाली कामदारको अभिलेखीकरण गर्ने र उनीहरूको बिमा, सामाजिक सुरक्षा, स्वास्थ्य परीक्षणलगायत कुरा अनलाइन माध्यमबाट गराएर एकदम छिटोछरितो विदेश पठाउन सकिने उनले जनाएकी छन् । नेपालबाट पनि श्रम स्वीकृति लिनुपर्ने प्रक्रियामा नेपाली कामदारहरू अल्झँदा कतिपय अवस्थामा वैदेशिक रोजगारको अवसर गुम्ने गरेको विभागका पदाधिकारीहरूको दाबी छ ।

कसरी बनाइँदै छ त सुरक्षित वैदेशिक रोजगार ?

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन तत्कालीन र दीर्घकालीन योजना अगाडि सारेको छ । पौडेलले भने, ‘वैदेशिक रोजगारमा भएका अनावश्यक प्रक्रियाहरूलाई हटाउने र सूचना प्रविधिको प्रयोग गरेर पूर्ण रूपमा अनलाइन सेवा सञ्चालन गर्ने हाम्रो तत्कालको योजना हो ।’ पुनः श्रम स्वीकृति लिने प्रक्रिया अनलाइनमार्फत सुरु गरिसकिएको र संस्थागत श्रम स्वीकृति पनि वैशाख २ गतेदेखि अनलाइन प्रणालीमा जाने विभागले जनाएको छ ।

मलेसियामा दिइने सुविधा तथा क्षतिपूर्ति नेपालमै

कामदारहरूको डकुमेन्टेड हुनुपर्ने र कुन कामदार कहाँ जाँदै छ, के काम गर्न लागेको छ भन्ने जानकारी चाहिँ राहत तथा उद्धारका लागि विभागको प्रणालीमा हुनुपर्ने महानिर्देशक पौडेलको भनाइ छ । कामदार स्वयंले इन्ट्री गरेर त्यो देशको भिसा लिएर विमानस्थलबाट जान सक्छन् । विभागले वैदेशिक रोजगारको प्रशासनिक कामको नाममा लामो प्रक्रिया गरिरहनु पर्दैन भन्ने किसिमले काम अगाडि बढाइएको छ ।

फाइदा हुनेमा विज्ञ असमत

नेपालले श्रम स्वीकृति लिनुपर्ने स्थितिको अन्त्य भए नेपाली कामदारलाई फाइदा हुने कुरामा श्रमसम्बन्धी कतिपय विज्ञ सहमत देखिँदैनन् । ‘श्रम स्वीकृति दिएर व्यवस्थित रूपमा पठाउँदा त विभेद, शोषण र बेचबिखनलगायत अनेकौँ समस्या भइरहेका छन् भने श्रम स्वीकृति नै लिन नपर्ने भएपछि श्रम आप्रवास प्रक्रिया कसले नियन्त्रण गर्छ भन्ने प्रस्ट छैन,’ मीना पौडेल भन्छिन्, ‘त्यसले गर्दा यो झन् छताछुल्ल भएर शोषण, उत्पीडन र आपराधिक गतिविधि झन् फस्टाउने हुन् कि भन्ने डर छ ।’

जाँदा आशा, फर्किंदा निराशा ?

श्रम स्वीकृति लिनु नपर्ने र अनलाइन छोडिदिँदा लाओस, उत्तर अफ्रिकी देशहरूमा विकृति फैलिएको अनुसन्धानका क्रममा आफूले पाएको विज्ञ मीना पौडेल बताउँछिन् । प्रविधिकेन्द्रित अनलाइन फारम भर्न छोडिदिँदा सरकारको पहुँच नरहने र अनुगमन गर्ने प्रक्रियाबाट सरकार मुक्त हुँदा झन् लथालिंग हुने स्थिति आउने आशंका आफू रहेको मीनाको भनाइ छ ।

झन्झट हटाउने उपाय

अहिलेको प्रक्रिया झन्झटिलो र लामो भए त्यसमा सुधार गरेर जान सकिने मीनाको सुझाव छ । ‘प्रदेशलाई, जिल्लालाई हामीले अधिकार प्रत्यायोजन गरेर प्रक्रियालाई हामी छोट्याउन सक्छौँ । प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवार बनाऔँ । यो गर्नसक्ने गरी उहाँहरूलाई स्रोत-साधन सम्पन्न बनाऔँ,’ पौडेलले सुझाएकी छन् ।

म्यानपावर कम्पनी र भविष्यमा अनलाइन फाराम भराउने प्लेटफर्महरूबीच हुनसक्ने सम्भावित साठगाँठलाई राज्यले निगरानी गर्नुपर्ने पनि उनले औँल्याइन् । त्यसपछि विदेशमा रहेका हाम्रा दूतावासमार्फत् गन्तव्य मुलुकहरूमा कस्ता कस्ता रोजगारका सम्भावना छन् र कस्ता श्रमिक चाहिन्छ भन्ने कुरा बुझ्न सकिने उनी बताउँछिन् । -बीबीसी

प्रतिक्रिया