बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढ्दै : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दोरुपमा बढीरहेको बताएकी छन् । आज शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताइन् । मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्नेबारेमा गहन छलफल हुन आवश्यक रहेको पनि बताइन् ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोवास गर्नेहरुको जनसंख्या ६६ प्रतिशतको हाराहारीमा भएपनि अधिकांश नगरपालिकाहरुमा न्युनतम आधारभुत पूर्वाधारहरु पुग्न नसकेको बताएका छन् ।
उनले हालै स्थापना भएका नगरपालिकाहरुको संस्थागत क्षमता अपेक्षितरुपमा विकसित हुन नसकेको पनि बताए । सचिव सिंहले बहुआयामिक विषयहरु समेटिएको शहरी पूर्वाधार विकासमा संलग्न निकायहरुबीच आपसी समन्वयको अभाव भएको पनि बताए ।
सचिव सिंहले शहरी विकासमा तीन तहका सरकारहरुको भूमिकासमेत अस्पष्ट रहेको बताए । उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्न नयाँ शहरी नीति, एकीकृत शहरी विकासका लागि शहरी विकास ऐन र मापदण्डहरुको तर्जुमा गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

प्रतिक्रिया