‘अर्थमन्त्रीसँग तालमेल नमिल्दा गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताएका हुन् ।
उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे ।
उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैरजिम्मेवारी भएको बताए । नेता कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।
नेता कोईरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए ।
नेता कोईरालाले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए । नेता कोईरालाले नेपाली कांग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरु जस्तो जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए ।

प्रतिक्रिया