‘नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, चाँडै समाधान हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।
उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने–‘अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’
उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो विदेशी ऋण पनि त्यति धेरै होईन् । नेपालमा जिडिपीको २२ प्रतिशतमात्रै छ । श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आँत्तिनुपर्ने अवस्था छैन् । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो लेभलबाट गुज्रिएका छैनौं । तर, सतर्कता त हुनुपर्छ ।’
उनले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको पनि सुनाए । उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको पनि स्मरण गराए ।
समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तिय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आज पनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए । साथै उनले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रिया