आइतबार, वैशाख २८, २०८२

रुस-युक्रेन युद्ध : पुटिनले जातीय नरसंहार गराएको बाइडेनको आरोप

नेपालखोज २०७८ चैत ३० गते ७:३६

काठमाडाैं । युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको अमेरिकी राष्ट्रपति जो बाइडनले आरोप लगाएका छन् ।यसअघि उनले रुसलाई युद्ध अपराध गरेको बताएका थिए ।

बाइडेनले सुरुमा उक्त टिप्पणी आयोवा राज्यमा बढ्दो इन्धन मूल्यसम्बन्धी नियन्त्रणका उपायहरू बताउने क्रममा गरेका थिए । त्यहाँ उनले अलिखित सम्बोधनका क्रममा अमेरिकी परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताएका थिए।

त्यसपछि उनले उक्त आरोपमा पुन: जोड दिँदै पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बताए ।

आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए ।

त्यसका निम्ति प्रमाणहरू पनि एकपछि अर्को प्राप्त हुँदै गएको उनले बताए । ‘रुसीहरूले युक्रेनमा गरेका त्रासदीपूर्ण कामका प्रमाण आइरहेका छन् । यसबारे हामीले झन् धेरै जान्नेछौँ ।’

कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योल गर्ने जिम्मा वकिलहरूलाई दिइने तर सोझो रूपमा आफूलाई यो नरसंहार नै भएको लागेको बाइडनले बताए ।

यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए । रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ । बीबीसी

प्रतिक्रिया