कमल थापाकाे राप्रपा नेपालले आफ्ना उम्मेदवारका लागि पनि सूर्य चिह्नमा मत माग्ने

काठमाडौं । राप्रपा नेपालका उम्मेदवारले आगामी स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने भएका छन् । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति भएको हो ।
उम्मेदवार हुनेहरु निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने राप्रपाले जनाएको छ । राप्रपा नेपालका एक नेताले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् । निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहनेछन् ।’
दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र राप्रपा नेपालले उम्मेदवारी नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।

सहमतिअनुसार देशभरिमा तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाइनेछ । यस्तै राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारहरूलाई सघाउनेछ भने राप्रपा नेपालका उम्मेदवारहरू भएको ठाउँमा एमालेले उम्मेदवार नउठाइ सहयोग गर्नेछ । एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफनो पार्टी केन्द्रमा पठाउने गरी सहमति भएको जनाइएको छ । केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमतिमा भनिएको छ ।
वार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागी थिए । अध्यक्ष कमल थापाले देशभर चुनावी तालमेलको सहमति भएको सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया