बिमाप्रतिको विश्वास अभिवृद्धि गर्न पूँजी वृद्धिको निर्णय भएको हो : अध्यक्ष सिलवाल

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी वृद्धि गर्न, बिमकको जोखिम धारण क्षमता बढाउन, बिमाको कार्यक्षेत्र विस्तार गर्न र बिमाप्रतिको विश्वास अभिवृद्धि गर्न बिमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९ को पूर्वसन्ध्यामा आज ललितपुरको कुपण्डोलस्थित बिमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले समितिको निर्णय बमोजिम बिमा कम्पनीहरूले स्वःस्फूतरूपमा मर्जरमा गएर भए पनि चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बताएका हुन् ।
बिमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बिमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दे अध्यक्ष सिलवालले राष्ट्रिय बिमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बिमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बिमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘बिमा कम्पनीहरूसँग ३० दिनभित्र पूँजी बृद्धिको योजना मागेका छौं । पूँजी बृद्धि गर्नुपर्छ । पूँजी वृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यकसहजीकरण एवं सहयोग गर्न समिति तयार छ । कम्पनीले पूँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ ।’
अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बिमा कम्पनीका कर्मचारी र बिमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिँदै बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बिमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्दै समितिको प्रयासबाट बिमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बिमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बिमाको फोकल पर्सन तोक्ने कार्यसमेत भएको जानकारी दिए ।
कार्यक्रममा बिमक संघका अध्यक्ष चंकी क्षेत्री र जीवन बिमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । बिमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले संचालन गरेको कार्यक्रममा समितिका निर्देशकहरू कमलप्रसाद रेग्मी तथा दिनेशकुमार लाल, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र बिमा समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया