साताको तीन दिन मात्रै सेयर कारोबार, नेप्से ४९.०७ अंकले गिरावट

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली सेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन विहीबार लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले सेयर बजार पनि बन्द भयो ।
साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । विहीबार पनि सार्वजनिक विदा भएकाले सेयर बजार बन्द रहेको छ ।
सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो । बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया