शुक्रबार, वैशाख २८, २०८१

संयुक्त राष्ट्रसंघले भन्यो- गरिब देशको अर्थव्यवस्था समाप्त हुने खतरा बढ्यो

नेपालखोज २०७९ वैशाख २ गते १३:५७

काठमाडौं । युक्रेनमाथि रूसी हमलापछि सुरु भएको युद्धले अनेक विकासशील देशको अर्थव्यवस्था तहसनहस बनाउने खतरा उत्पन्न भएको छ । यी देश पहिलेदेखि नै खाद्यान्न तथा इन्धनको बढ्दो मूल्यसँग जुधिरहेका थिए भने उनीहरुको आर्थिक अवस्था पनि जटिल छ ।

यसबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले एक रिपोर्ट जारी गर्दै भनेका छन्- युद्धका कारण गरिब देशहरुमा भोजन, इन्धन तथा आर्थिक संकट थप गहिरो भएको छ । यी देशहरु पहिलेदेखि नै महामारी, जलवायु परिवर्तन एवं आर्थिक सुधारका लागि आवश्यक धनको अभावजस्ता समस्यासँग संघर्ष गरिरहेका छन् ।

गुटेरेसले एक पत्रकार सम्मेलनमा भने, ‘हामी अहिले एउटा तुफानको सामना गरिरहेका छौं जसले थुप्रै विकासशील देशको अर्थव्यवस्था तहसनहस बनाउने चेतावनी दिएको छ । अहिले लगभग १.७ अर्ब मानिस भोजन, ऊर्जा तथा वित्त प्रणालीको संकटमा पुग्ने अवस्थामा छन् । तिनमा पनि एकतिहाइ त पहिलेदेखि नै गरिबीमा बाँचिरहेका छन ।’

१०७ देश संकटको नजिक
व्यापार र विकासलाई बढावा दिने संयुक्त राष्ट्रसंघीय एजेन्सीकी महासचिव रेबेका ग्रिनस्पेनका अनुसार संकटको जोखिममा भएका मानिसहरु १०७ देशमा फैलिएका छन् ।

रिपोर्ट अनुसार, ती १०७ देशमा मानिसहरुले स्वस्थ आहार पाएका छैनन् । भोजन र ऊर्जाका लागि उनीहरु आयातक‍ै भरमा छन् । ऋणको बोझ तथा सीमित संसाधनका कारण अन्तर्राष्ट्रिय स्थितिले सिर्जना गर्ने संकट निवारण गर्ने उनीहरुको क्षमता पनि सीमित छ ।

प्रतिक्रिया