‘अघिल्लो सरकारले व्यापारीलाई सुपारी आयात गर्न दिएकाले अहिले समस्या’

नेपालखोज २०७९ वैशाख २ गते १९:३०

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्नका लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको दाबी गरेका छन् ।

आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा बोल्दै उद्योगमन्त्री बडुले केही व्यापारीहरुलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्नको लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका हुन् ।

उनले अघिल्लो सरकारले परिणामलाई समेत खाल नगरी केही व्यापारीहरुलाई सुपारी आयात गर्न दिएकाले अहिले समस्या आएको आरोपसमेत लगाए । मन्त्री बडुले विगतमा कही व्यापारीले सुपारी आयात गर्ने तर नेपालमा केही प्रतिशत देखाउने तर बाँकी परिणाम अन्य देशमा निर्यात गर्नाले सुपारी आयातमा समस्या रहेको बताए ।

सुपारी कच्चा पदार्थ चाहिने गुड्खा उद्योगहरुलाई चाहिने भएकाले त्यही उद्योगीहरुलाई आयात गर्न दिँदा समस्या समाधान हुने भएकाले सरकारले लिएको नीति सहि रहेको मन्त्री बडुको तर्क थियो । उनले सुपारी आयात गर्न नदिएर उद्योगहरुलाई बन्द गर्नु भन्दा पनि कच्चा पदार्थको आपूर्तिलाई सहज बनाएर आयातलाई व्यवस्थित गर्न उद्योगहरुको मागका आधारमा सरकार सुपारी आयात गर्न दिन तयार रहेको बताए ।

मन्त्री बडुले सुपारी आयात गर्दा व्यापारीहरुको मागको आधारमा सानादेखि ठूला उद्योगलेसमेत सुपारी पाउनु पर्ने भएकाले सुपारी आयात रोक्ने उद्देश्य नभएको बताए । त्यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद् प्रकाश स्नेहिले सरकारले उद्योगीहरु बाहेकलाई सुपारी आयात गर्न सरकारले अनुमति दिए स्विकार नहुने चेतावनी दिए ।

विगतका सरकारले कुनै एक व्यापारीलाई सुपारीको आयात अनुमति दिँदा उनीहरुले नेपालमा १० देखि १५ प्रतिशत मात्रै राख्ने र बाँकी अन्य देशमा सप्लाई गर्ने गरेको बताए । सांसद स्नेहीले सरकारले नेपालमा सुपारी कति खपत हुन्छ ? अध्ययन गरेर डाटा राख्नु पर्ने बताए ।

उनले देशभरका सबै पान तथा सुर्ती पसलहरुलाई एक रुपैयाँ लगाएर भए पनि करको दायरामा ल्याउन सरकारसँग माग गरे । उनले अहिले नेपालमा आयात भएर आएको सुपारी गुणस्तरहिन रहेकाले सरकारले अनुगमन गर्ने निकाय खडा गर्नु पर्ने आवश्यक्ता औंल्याए ।

बैठकमा देउती गुड्खा उद्योगका निर्देशक टपबहादुर शाहीले सरकारले उद्योगहरुको खपत क्षमताको आधारमा सुपारी आयात गर्न दिनु पर्ने माग राखे । उनले अहिले सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएकाले गुड्खा उद्योगमा २५ हजार मेट्रिकटन सुपारी खपत नहुने दाबी गरे । निर्देशक शाहीले नेपालमा सुपारी सहजरुपमा नपाउँदा चोर बाटोबाट भारतिय गुड्खा नेपालमा भित्रि रहेको बताए । उनले नेपालका गुड्खा उद्योगमा ८० प्रतिशत कच्चा पदार्थ सुपारी नै खपत हुने गरेको जानकारी दिए । नेपालका गुड्खा उद्योगहरुले मात्रै वार्षिक २ अर्ब भन्दा बढी राज्यलाई राजश्वमा योगदान गर्ने गरेको बताए ।

त्यस्तै, पान व्यवसायी संघका अध्यक्ष टेकबहादुर अधिकारीले सरकारले पान व्यवसायीलाई रोजगारी नभएर सुपारी दिए पुग्ने बताए । उनले मुलुकभर ६० हजार पान पसल रहेको दाबी गरे । पान व्यवसायीहरुले पनि सुपारी खरिद गर्ने अनुमति पाउनु पर्ने माग राखे । अध्यक्ष अधिकारीले विगत १६ वर्षदेखि सहज रुपमा सुपारी पान लगायतका बस्तु उपलब्ध गराएर व्यवस्थित बनाउन सरकारी निकायका ढोकामा गए पनि अहिलेसम्म कसैले नसुनेको गुनासो गरे ।

प्रतिक्रिया