आगामी बजेटका लागि नाफिजले दियो सरकारलाई सुझाव

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थमन्त्री जनार्दन शर्माबीच अर्थमन्त्रालयमा भेटघाट भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री शर्माले सुझावको लागि गरेको निमन्त्रणा गरेका थिए । भेटमा नाफिज कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष मोदनाथ ढकालले सुझाव पेश गरे ।
नाफिजले दिएको सुझावमा पत्रकार हकहित र अर्थतन्त्रमा गरिनुपर्ने सुधारको बारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ । जसमा विदेशी विनिमय सञ्चिति बढाउनको लागि आगामी बजेटमा समेट्नु पर्ने विषय र अर्थतन्त्रलाई प्रभावकारी रुपमा कसरी अघि बढाउने भन्ने उल्लख छ । सुझाव ग्रहण गर्दै अर्थमन्त्री शर्माले बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र रहने बताए । शर्माले कृषिमा स्रोत, साधन र श्रमको पहिचान, व्यवस्थापन र उपयोग गर्न नसकिएको स्वीकार्दै कृषि र कृषि केन्द्रीत कार्ययोजना कार्यान्वयन संयन्त्रमा रुपान्तरतको आवश्यक रहेको बताए ।
उनले भने, ‘मैले पछिल्लो आठ महिनाको आयातको तथ्यांक विश्लेषण गरेंजसमा सबैभन्दा धेरै कृषि उपजकै हिस्सा देखिन्छ । हामी उत्पादनमुखी अर्थतन्त्रमा जानुको विकल्प छैन । शर्माले आयातको तथ्यांक विश्लेषण गर्दा आयातको परिमाण नभई अन्तराष्ट्रिय बजारमा मूल्य वृद्धिको कारण आयातको आयात मूल्यको‘ग्राफ’ बढेको आफूले महसुस गरेको जिकिर गरे ।
शर्माले भने, ‘गत आर्थिक वर्षको ८ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आवको सोही अवधीमा एक खर्ब ८८ अर्बको आयात भएको देखिएको छ ।’ खाने तेल, मेसिनरी पार्टपुर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए । यस्ता वस्तुमा मूल्यवृद्धिको मार परेको अर्थतन्त्रमाउनको दाबी छ ।
शर्माले शोधनान्तर घाटालाई अगामी तीन महिनामै ‘ब्यालेन्स’ मा ल्याउने प्रतिबद्धता गरे । यसबारे शुक्रबार नै राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै उनले भने, ‘शोधानान्तर स्थितिलाई सन्तुलनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालय गम्भीर छ, आयात कडाइको असर देखिन थालेको छ । आगामी असार भित्रै सन्तुलन हुने हामीले विश्वास गरेको छौं ।’ शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको पनि बताए । शर्माले भने, ‘अब कृषिमा रुपान्तरण जरुरी छ, हामीले कम्तिमा साग त रोप्नु प¥यो नि !’ विद्युत खपतमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । अर्को आम्दानीको महत्वपूर्ण श्रोत पर्यटन भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए । यसका लागि पनि सरकारले काम गरिरहेको उनले बताए ।
शर्माले ग्याँसमा अहिले नेपाल आयल निगमले प्रतिसिलिन्डर ९२५ रुपैयाँ अनुदान दिइरहेको बताउँदै अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सरकारले सोचिरहेको जानकारी दिए । हाइब्रिड बिउ दिएर किसानलाई धानको उत्पादनमा जोड गर्न लगाइने उनले बताए । भेटमा अर्थमन्त्रीका आर्थिक सल्लाहाकार डा. सुरेन्द्र उप्रेती, मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला, मन्त्री शर्माकाप्रेस विज्ञ अजित अधिकारी, बैंक तथा वित्तिय क्षेत्र विज्ञ शालिकराम पोखरेल तथा नाफिज कार्यसमितिको सहभागिता थियो ।

प्रतिक्रिया