स्थानीय तह निर्वाचनको मितिप्रति नै संशय, आयोग चिन्तित

नेपालखोज २०७९ वैशाख ३ गते १४:४२

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र छलफल पछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भए पनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति कहीँकतै आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताए ।

आज जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार सम्प्रेषण कुनै पनि सञ्चार माध्यामहरुले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गरे ।

उनले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चार माध्यामहरु निर्वाचन प्रचारप्रसारका लागि बढि उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढि बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यामहरुले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताए ।

प्रतिक्रिया